ऐतिहासिक कमलपोखरीमा बनेको छायाँ कम्प्लेक्सबारे अन्तर्राष्ट्रिय चासो

विदेशी संस्थाबाट अनुसन्धान थालिएपछि कम्पन

काठमाडौं । पहुँच र पैसाको भरमा राज्य संयन्त्रलाई नै प्रभावमा पारी ऐतिहासिक कमलपोखरीमाथि निर्माण गरिएको छायाँ कम्प्लेक्स डगमगाएको छ । देशभित्र जिम्मेवारी निकायको आँखा र मुख बन्द गराउने गरेपनि विदेशी संस्थाहरुले छायाँ कम्प्लेक्सबारे चासो देखाएका छन् ।

ऐतिहासिक कमलपोखरी जोगाउन सक्रिय भुमि अधिकारसम्बन्धी सक्रिय समुहले संयुक्तराष्ट्रसंघीय नियोगहरुमा पुरातात्विक पोखरी हडपिएको भन्दै उजुरी दर्ता गरेपछि अन्तर्राष्ट्रियस्तरमै ध्यानाकर्षण भएको हो । ठमेलको नेवाः समुदायबाट राष्ट्रसंघको नेपालस्थित नियोग र अन्तर्राष्ट्रिय श्रम संगठनमा छुट्टाछुट्टै उजुरी परेपछि बिजनेश एन्ड ह्युमन राइट्स रिसोर्स सेन्टरले पत्र लेखी छायाँदेवी कम्प्लेक्स र त्यहाँ रहेको मेरिअट इन्टरनेशनललाई उजुरीबारे जवाफ मागेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको कन्भेन्सन १६९ र आदिवासीको अधिकारसम्बन्धी युएन घोषणाको गम्भीर उल्लंघन हुने गरी छाँयादेवी कम्प्लेक्स निर्माण गरिएको उजुरीपछि ह्युमन राइट्स रिसोर्स सेन्टरले पत्र लेखेको हो ।

पत्रको जवाफमा छाँया सेन्टरले जवाफ लेखेको छ । जवाफमा सेन्टरले आरोप तथ्यमा आधारित नभएको दाबी गरेको छ । छायाँ सेन्टरले कुनैपनि समुदाय र आदिवासी समुदायको सांस्कृतिक अधिकार हनन् नगरेको भनेको छ । कुनैपनि ऐतिहासिक र पुरातात्विक तथ्यका आधारमा छायाँ सेन्टरमाथिको आरोप पुष्टि नहुने दाबी गरिएको छ । उसले निर्माणपूर्व इआइए गरेको र अदालतले निर्माण रोक्न अन्तरिम आदेश जारी गर्न परेको निवेदनलाई अस्वीकार गरेको समेत उल्लेख गरेको छ । सेन्टरका निर्देशक सुमन पाण्डेले छायाँ सेन्टर निर्माण भएको जमिन केशर शमशेर राणाको व्यक्तिगत जमिन भएको र क्रमशः उनको सन्तान हुँदै २०६५ सालमा छायाँ सेन्टरले खरिद गरी कम्प्लेक्स निर्माण गरेको जवाफ दिएको छ ।

यसैगरी, मेरिअटले जवाफमा सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन रहेको भनी जवाफ लेखेको छ । उसले योजनाको कानुनी र वैधानिक तरिका सबै वैध रहेको लेखेको छ । विवादास्पद छायाँ सेन्टरमा किन मेरिअट होटल सञ्चालनमा रहेको भन्ने आशयको पत्र बिजनेश एन्ड ह्युमन राइट्स रिसोर्स सेन्टरको दक्षिण एशियाका रिसर्चर र प्रतिनिधि अन्नी एस खान, वरिष्ठ योजनाविद तथा रिसर्चर क्रिष्टिन र एशिया क्षेत्रीय म्यानेजर बेटी योल्यान्डले पत्र लेखेपछि यस्तो जवाफ दिएको हो ।

पुरातात्विक महत्वको कमलपोखरी माँसेर छायाँ सेन्टर ठड्याएको विषय अन्तर्राष्ट्रिय चासोमा परेपछि नयाँ माहोल सृजना भएको छ । अब छायाँ सेन्टर बनिसक्यो केही हुन सक्दैन भन्नेहरुलाई पनि नराम्रो झड्का पर्न थालेको छ । जिम्मेवार अन्तर्राष्ट्रिय निकायले यसबारे अनुसन्धान अगाडि बढाएको जवाफ मागिएकोबाट पनि बुझ्न सकिन्छ । अब पुरातात्विक स्थानको अन्तर्राष्ट्रिय मापदण्ड र विद्यमान कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने तय भएको बुझिएको छ ।

झुटको खेती

छायाँ सेन्टरले बिजनेश एन्ड ह्युमन राइट्स रिसोर्स सेन्टरलाई कम्प्लेक्स व्यक्तिको जग्गामा बनेको भनी झुटो विवरण पठाएको छ । जबकि छायाँ सेन्टर बनेको भवन ऐतिहासिक कमलपोखरी हो भन्ने पुरातात्विक महत्वको शिलालेख र दस्तावेजले प्रमाणित गर्दछ । हजारौं वर्षदेखि गुठी अन्र्तगतको पोखरी पहुँच र प्रभावका भरमा हडपिएको तथ्यहरुले पुष्टि गर्दछ ।

ठमेल थँबहिलस्थित कमलपोखरीको जग्गामा निर्माण गरिएको १५ तल्ले छायाँ कम्प्लेक्समा कमलपोखरी थियो । उक्त जमिनको हडपिएको १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा श्री सिंह सार्थ बाहु गरुड भगवान गुठी अन्र्तगतको कमलपोखरीको जग्गा हो ।  कम्प्लेक्स बनेको ‘गुठी रैतानी’ को जग्गाको मुद्दा अगाडि बढाउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि यसैबारेका थप मुद्दाहरु दायर भई कारबाही अगाडि बढ्ने अवस्था बनेको छ । त्यसमाथि यसले अन्तर्राष्ट्रिय चासो पाएपछि छायाँ कम्प्लेक्सको बेइमानी नलुक्ने र कमलपोखरी स्थापित हुने अवस्था बन्नसक्ने देखिन थालेको छ ।

प्रमाणिक दस्तावेज

कमलपोखरी हाल छायाँ सेन्टर बनेको स्थानमा थियो भन्ने ऐतिहासिक तथ्यहरुले देखाउँछ । कमलपोखरीको जग्गामा केशर शमशेर राणाले राणा शासनकालमा प्रभाव देखाएर हडपेको तथ्य गुठी संस्थानको दस्तावेजहरुले देखाएको छ । २०२४ साल जेठ १ गतेको गुठी संस्थानको दस्तावेज अनुसार कमल पोखरीको डिलको २६ रोपनी जग्गा हडपेर सट्टाभर्ना समेत नदिइएको उल्लेख छ । दस्तावेजको बुँदा नम्बर ४ मा भनिएको छ, ‘फिल्ड मार्सल केसर शमशेर जबराबाट क्याम्पा भित्र पारी पर्खाल लगाई चलन गर्नुभयो र पोखरीको आयस्ता वापत रु १२५ सालना दिने गरेको छ । पोखरीको डिलको जग्गाको सट्टा भर्नालाई जग्गा खोजी जाहेर गर्नु भन्ने वहाँको १९७८ साल माघ २ गतेको दस्तखत पनि छ त्यसको सट्टा भर्ना र वाली समेत आजसम्म पाएको छैन । सो गुठी जग्गाको बाली आयस्ता नपाएको वेहोरा वहाँ जीवित हुँदा निवेदन गर्दा मिलाई दिने मौखिक आश्वासनसम्म पाएको आधारमै बसी रहेको थियो त्यस पछि वहाँको रानी छेउ निवेदन गरी पठाएकोमा केही जवाफ दिनुभएन । त्यसो हुनाले गुठी संस्थानबाट सो दिलाउने विषयमा लेखा पढी भई दिए झै झगडा गरी वर्षौसम्म अलमलिनु नपरी काम हुने थियो ।’ यसबाट जग्गा हडपिएको र आयस्ता रकम पनि नदिने जग्गा सट्टाभर्ना पनि नदिने व्यवहार देखिन्छ ।

जग्गा हत्याउन विगतबाट नै योजनावद्ध तरिकाले पहुँचवाला ठूलो गिरोह लागेको तथ्य फेला परेको छ । विवादित जग्गा राजगुठी सिंह सार्थबाहु गरुड भगवान गुठीको नामको हो भन्ने तथ्य वि.सं. १९७७ मा केसर शमशेर राणाले पोखरीको आयस्ता वापत् १ सय २५ रुपैयाँ दिने गरेको प्रमाणले देखाउँछ । गुठी संस्थानसँग उक्त जग्गा गरुड भगवान गुठीको हो भन्ने ऐतिहासिक दस्तावेज सुरक्षित छ । उक्त जग्गा कमलपोखरी र डिल कायम हुनुपर्ने भनी २०२७ मा दायर गरिएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशबहादुर केसी र विश्वनाथ उपाध्यायको इजलाशले २०३३ पौष ३ गते निवेदकको पक्षमा फैसला गर्दै श्री सिंहसार्थ बाहु गरुड भगवान गुठीको मातहत गरेको पुरातात्विक महत्वको कमलपोखरी र त्यसको डिल कायम हुनुपर्ने’ भनेको छ । तर, कानुनको छिद्रमार्फत् पहुँच र प्रभाव देखाउँदै ऐतिहासिक तथा पुरातात्विक महत्वको जग्गा व्यक्तिको नाममा पटक पटक कित्ताकाट पछि खरिद विक्री भएको देखिन्छ । २०३३ को नापी अनुसार १६७ कित्ता नम्बरको जग्गा १२ रोपनी १३ आना २ पैसा २ दाम देखिन्छ । २०३९ जेठ २४ को जग्गाधनी पूर्जामा पोखरी उल्लेख गरी जग्गाधनी गुठी उल्लेख छ । २०४२ सालको फिल्डबुकमा समेत पोखरी लेखिएको छ ।

जग्गा हड्प्न चलखेल

२०३३ माघ ८ मा गुठियार, केयूर शमशेर र गुठी संस्थानबीच सर्वोच्च अदालतमा मिलापत्र भई जग्गाको बहाल तिर्ने सहमति भएको देखिन्छ । २०३९ सालमा मोही दर्ता गरी कित्ता नम्बर १६७ विक्री गरिएको थियो । गुठी संस्थान ऐन अनुसार ऐतिहासिक तथा पुरातात्विक महत्वका पोखरी, मठ मन्दिर, बाग बगैंचा, आदि जग्गामा मोही  समेत कायम नहुने व्यवस्था भएपनि कित्ता काट गरी शुरुमा बिना पौड्याल र त्यसपछि सुधा पौड्याललाई राजीनामा गरिदिएका थिए । उक्त जग्गामध्ये बिनाले खरिद गरेको कित्ता नम्बर १६१८ र सुधाले खरिद गरेको १६१६ काम गरियो । कित्ता नम्बर १६१८ कित्ता केयूर शमशेर राणाकै नाममा रह्यो । केयूरको मृत्युपछि अम्बिका राणाको नाममा जग्गा दर्ता भयो । पौड्यालद्वयको नामको दुई कित्ता जग्गा शंकरप्रसाद शाहको नाममा पास गरियो । २०४४ मा उक्त जग्गा श्री ५ को सरकारको नाममा आयो । २०४७ मा गुठी लगत तथा तहसिल कार्यालयले रैतानी गरिदियो । तर, गुठी संस्थानले निर्णय सच्याएर रैतानी सच्याएर पुरानै अवस्थामा फर्कायो । अम्बिका राणा अदालत गएपछि अदालतले रैतानीको पुरानो निर्णयलाई सदर ग¥यो । मुद्दा रोकिएन ।

२०६२ मा गुठियार र राणाबीच विवादास्पद सम्झौता भई गुठीको सबै पर्व परम्परा सञ्चालन गर्न एक करोड ५० लाख रुपैयाँ दिने र गुठियारले हकदाबी छाड्ने विवादास्पद सहमति गराइयो । गुठीको जग्गामा केही गुठियारले चलखेल गरेको तथ्य भेटिन्छ । २०६३ मा सुरेशाय हाउजिङलाई जग्गा विक्री गरियो । २०६४ मा सुरेशायले कित्ता नम्बर २४१२ र शंकर शाहले कित्ता नम्बर १६१६ र १६१८ को विवादास्पद जग्गा प्रतिमा पाँडेलाई विक्री गरेको मालपोत कार्यालयको रेकर्ड छ । पाँडेको नाममा जग्गा पुगेपछि छायाँदेवी कम्प्लेक्स प्रा.लि.को नाममा पास गरेर छायाँ कम्प्लेक्स निर्माण प्रक्रियालाई गति दिएको देखिन्छ । प्रतिमा छाँया सेन्टर प्रा.लिंको ४३ जना शेयरहोल्डरमध्ये पर्छिन् । उनको नाममा १ करोड २ लाख ४४ हजार ४ सय रुपैयाँ बराबरको सेयर छ ।

कम्प्लेक्समा शेयरधनीमध्य व्यापारिक घराना पाँडे परिवारका सदस्यहरुको संख्या उल्लेख्य छ । कम्पनि रजिष्ट्रार कार्यालयका अनुसार चर्चित व्यापारी पृथ्वी बहादुर पाँडेको ७ करोड ७८ लाख ३४ हजार ६ सय लगानी देखिन्छ । दिपकमान शेरचनको ४ करोड ७३ लाख ७१ हजार, महेश्वर प्रकाश श्रेष्ठको ३ करोड ३० लाख ५५ हजार, सिद्धान्तराज पाण्डेयको ३३ लाख ७० हजार, योगेन्द्रबहादुर शाक्यको ९४ लाख एक सय, विकाश थापाको ८३ लाख ५५ हजार, प्रजन्य राजभण्डारीको २ करोड ५० लाख ६७ हजार, सिद्धान्त बहादुर पाँडेको १९ लाख ७२ हजार, राजधानी इन्भेष्टमेन्ट फण्ड प्रा.लि. को २ करोड २४ लाख ४ हजार, सुरेश लाल श्रेष्ठको ५२ लाख, ज्ञानेन्द्र खनालको १ करोड, सिताराम महासेठको १ करोड, हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिंको ३ करोड ४८ लाख, महेन्द्रलाल प्रधानको २ करोड ६७ लाख ३८ हजार, रवीन्द्र राजभण्डारीको ५० लाख, महेश खनालको ५० लाख, दिक्षान्त दाहालको ६७ लाख ५० हजार, आशिष पौड्यालको ४० लाख, योगेश भण्डारीको १ करोड १५ लाख, सुमन विक्रम पाण्डेको २ करोड, अनु पाण्डे पन्तको ७८ लाख, नेमेन्द्र जंग थापाको १ करोड, मिजास भट्टचनको ३ करोड ५४ लाख १९ हजार ८ सय, किरण मान शेरचनको ६८ लाख २ हजार, मनोहर प्रसाद शेरचनको १ करोड ६० लाख ४३ हजार, शान्त बहादुर मल्लको ९४ लाख १ सय, ध्रवनारायण श्रेष्ठको ६२ लाख ६६ हजार ८ सय, प्रयुष राजभण्डारीको ५० लाख, प्रणय राजभण्डारीको ५० लाख, उर्मिला पाण्डेको ७१ लाख ५० हजार, पि.एम.एफ इन्भेष्टमेन्ट प्रा.लि.को ४८ लाख, पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबराको उनकी पत्नी सिन्धु राणाको २५—२५ लाख, स्याकार ट्रडिङ कम्पनि प्रा.लि.को ३ करोड ५० लाख, रेखा घिमिरेको ३ करोड १० लाख, इन्दु शर्माको ९ लाख, प्रज्वल भण्डारीको ८५ लाख, प्रतिमा पाँडेको १ करोड २२ लाख ४४ हजार ४ सय, निर्मल प्रधानको ६ करोड ५० लाख, लक्ष्मी शाक्यको १० लाख, प्रेम शोभा तुलाधरको ४० लाख, रक्षक महतको ५० लाख र पारुल पाँडेको ८ लाख ७७ हजार २ सय लगानी उल्लेख छ ।

पहुँचवाला व्यक्तिहरुको शेयर हुनुले प्रमाणित दस्तावेजले मोहियानी कायम नहुने राजगुठी अन्र्तगतको पोखरीको जग्गा निजी गुठी दाबी गरी मोहियानी कायम गरी योजनावद्ध तरिकाले मोही कट्टा गरी पटक पटक किनबेच गरी लालपूर्जा घुमाएर पहुँच र प्रभावका भरमा भवन निर्माण भएको हो । जग्गा नामसारी गर्दा गुठी संस्थान अन्र्तगतको काठमाडौंस्थित गुठी कार्यालयका कर्मचारीलाई प्रभावित पारिएको छ भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाका कर्मचारीलाई प्रभावित पारिएको छ । पुरातात्विक महत्वको विवादास्पद जग्गामा महानगरपालिकाले १४ तल्ले भवनको नक्शा पास गरिदिएको थियो । अझै निर्माण बाँकी रहेको भवनलाई महानगरपालिकाले हतार हतार छ महिना अगावै निर्माण सम्पन्नको प्रमाणपत्र दिइसकेको तथ्य समेत फेला परेको छ । छायाँ सेन्टर बनाउन राज्य संयन्त्रकै दुरुपयोग भएको छ । यसबाट पहुँच र प्रभावका बलमा पुरातात्विक स्थानहरु कसरी हडपिन्छन् भन्ने समेत छर्लंग भएको छ ।

2020 July 30 12:04 pm

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया