समाजवादको अनुभव र नेपाल

प्रवेश केसी, अधिवक्ता

नेपालको संविधान २०७२ को प्रस्तावनामा नै समाजवाद प्रति प्रतिवद्धता जाहेर गरिएको छ । राज्यको निर्देशक सिद्धान्तको रुपमा संविधानमा नै लोक कल्याणकारी राज्य व्यवस्था स्थापना गर्ने संकल्प गरिएको छ । संविधानमा नै समाजवाद निर्माण गर्ने एवं लोक कल्याणकारी राज्य बनाउने उल्लेख गरिएकोले आम नागरिकहरूमा एक प्रकारको खुल्दुली समेत उठेको छ भने दलका शिर्षस्थ नेताहरूको बोलीमा समेत समाजवाद एवं लोक कल्याणकारी राज्य प्रतिको हुङकार वेला बखत सुनिन थालेको छ ।
संविधानमा उल्लेखित समाजवादको व्याख्या गर्ने र कस्तो समाजवाद निर्माण गर्ने भन्ने विषयमा भने सबै दलहरू एवं नेता नै पिच्छे मत भिन्नता देखिने गरेको छ ।
काल्पनिक समाजवाद
१६ औ शताव्दीमा नै थोमस मोरले समाजवादी समाजको बारेमा आफ्नो पुस्तक ‘युटोपीया’ मा उल्लेख गरेको स्वीकार गरिन्छ । तथापी, उक्त अवधारणा १९ औं शताव्दी सम्म गुमनाम नै थियो ।
१९ औं शताव्दीमा फ्रेन्च दार्शनिकहरू सेन्ट साइमन, फूरियरले समाजवादको अवधारणा जवरजस्त रुपमा अगाडी सारेका थिए । उक्त समाजवादको अवधारणा त्यस समयमा उद्घोष गरिएको थियो जुन समयमा युरोपमा सामन्तवाद ढलिसकेको थियो भने क्रुर र एकलकाँटे पुँजीवाद भित्रिएको थियो । पुजीबादको तिखो आलोचना गरेको उक्त समाजवादले शान्तिपूर्ण ढंगबाट पुँजीबादको विश्थापनको निम्ति शिक्षित मध्यम वर्गलाई सार्वजनिक आव्हान गरेको थियो ।
१९ औ शताव्दीको ३० को दशकमा विद्धान रोवर्ट ओवेनले वेलायतमा यो अवधारणा लोकप्रिय बनाउनको निम्ति कोशिश गरे । तथापी, तत्कालिन युरोपका पुँजीपतीहरूको वेवास्ताले गर्दा यो समाजवादले ठोस रुपमा आकार लिन भने सकेन ।
वैज्ञानिक समाजवाद
सन् १८४३ मा नै उपरोक्त फ्रेन्च समाजवादलाई कार्ल माक्र्सले आलोचना गर्दै पुँजीवादसँग टक्कर लिने हैसियत नभएको वताए ।
सन् १८४८ मा माक्र्स एवं एङ्गेल्सले ‘कम्युनिष्ट मेनिफेष्टो’ मार्फत फ्रेन्च दार्शनिकको समाजवादलाई काल्पनिक समाजवाद (युटोपियन सोसियलिज्म) भनिदिए । तत् पश्चात कम्युनिष्टहरूले ‘वैज्ञानिक समाजवाद’ को पक्ष पोषण गर्न थाले । कम्युनिष्टहरूले उक्त वैज्ञानिक समाजवादको सर्वाहरा वर्गले नेतृत्व लिने ठोकुवा गरे ।
समाजवादलाई पुँजीवाद एवं साम्यवाद विचको सेतुको रुपमा काम गर्ने संक्रमणकालिन समाजको रुपमा मान्नु पर्ने तर्क कम्युनिष्टहरूले अगाडी सारे । वैज्ञानिक समाजवादले उत्पादनका साधनहरूमा राज्यको स्वामित्व हुनु पर्छ भन्ने मान्यता राख्छ । उक्त समाजवाद निर्माणका निम्ती वैज्ञानिक समाजवादले प्रथमतः वर्ग संघर्ष मार्फत क्रान्ति, सर्वहारा वर्गको अधिनायकत्व र निजी स्वामित्वको उन्मूलनको मान्यता राख्दछ ।
रुसको समाजवाद
रुसको समाजवादी क्रान्ति पनि माकर्सवादको प्रेरणाबाट नै गरिएको थियो । सन् १९१७ मा लेनिनको नेतृत्वमा भएको क्रान्तिलाई समाजवादी क्रान्ति भन्ने गरिन्छ । विश्वका कम्युनिष्टहरूले तत्कालिन शोभियत युनियन (हालको रुस लगाएत अन्य भू–भाग समेत) मा स्थापित लेनिनको समाजवादलाई एवं उक्त क्रान्तिलाई माक्रसबादको प्रथम सफल प्रयोग ठान्छन् ।
माक्र्स ले विकसित पुँजीवादी देशहरूमा सुरुमा सर्वाहरा वर्गको क्रान्ति हुने आकलन गरेका थिए । लेनिनले भने पिछडिएको कृषि प्रधान देशमा नै समाजवादी क्रान्ति सम्भव तुल्याए । लेनिनले आफ्नो कृती ‘राज्य र क्रान्ति’ मा समेत उपर्यक्त अवस्थाको विश्लेषण गरेका छन् ।
सन् १९२४ मा नै उक्त क्रान्तिका नायक लेनिनको मृत्यु भए पश्चात उक्त समाजवादको वास्तविक प्रयोगको जिम्मेवारी स्टालिनमा पुग्यो ।
स्टालिनले समाजवादको प्रयोग गर्दै विश्वको पिछडिएको कृषीमा आधारित मूलुकलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाए । विज्ञान र प्रविधीमा अथाह प्रगती गर्दै अन्तरिक्ष जगतमा समेत रुसको दवदवा कायम राखे । विश्वको लागि खतरा ठानिएको फासीवादी हिटलर र त्यसको सेनालाई समेत मूलतः रसियाका लालसेनाहरूले परास्त गरे ।
स्टालीनको मृत्यु पश्चात विस्तारै रुसको उक्त समाजवाद धरासयी हुँदै गयो र अन्तमा भूगोलको आँखामा विश्वको सबै भन्दा भिमकाय राष्ट्रको समाजवाद संकट ग्रस्त हुन पुग्यो । समाजवादको विसर्जन सँगै तत्कालिन शोभियत युनियन छिन्न भिन्न हुन पुग्यो । अहिले पनि रसियनहरूले आफूलाई समाजवादी भन्न रुचाउँछन् ।
‘कल्याणकारी राज्य’ मा आधारित नर्डिक समाजवाद
नर्डिक मूलुकहरू नर्वे, स्वीडेन एवं डेनमार्क जस्ता मूलुकहरूले अपनाएको ‘कल्याणकारी राज्य’ (वेलफेयर स्टेट) को अवधारणाले विश्वका मानिसहरूलाई आकर्षित गरिरहेको छ । जोन स्टुआर्ट मिलको ‘धैरै मानिसहरूको खुसीयाली’ भन्ने सिद्धान्तमा कल्याणकारी राज्यको अवधारणा आधारित रहेको मान्ने विद्धानहरू पनि थुप्रै छन् ।
दोस्रो विश्व युद्धको केहि समय पछि सन् १९६० बाट नै यि देशहरूमा राज्यको भूमिकाको विषयमा छलफल सुरु भइसकेको थियो ।
नर्डिक मूलुकहरूमा निःशुल्क शिक्षा, स्वास्थ्य, औषधोउपचार एवं सामाजिक सुरक्षाको कार्यक्रमहरू प्रस्तुत गरिएको वर्षाै भइसकेको छ । यि मूलुकहरूमा प्रगतीशिल कर प्रणाली लागू गरिएको छ जस मार्फत यि कार्यक्रमहरू चलाउन राज्यलाई सजिलो भएको छ ।
विकासको अवस्था हेर्नलाई संसारमा सबै भन्दा पछिल्लो पटक सिफारिस गरिएको लोकप्रिय विधी ‘मानव विकास सूचाकंक’ (एचडिआई) नै हो । एचडिआईको आँखामा नर्वे वितेका १५ वर्षहरू देखि नै १ नम्बरमा नै छ ।
अन्य नर्डिक मूलुकहरू सबै वर्षहरूमा उत्कृष्ट १० मा नै कायम छन् । उक्त विकासको अवधारणाबाट हेर्दा यि मूलुकहरू विश्वमा अग्रपंक्तीमा नै छन् ।
नर्डिक मूलुकहरूमा अवलम्बन गरिएको उपरोक्त व्यवस्थामा आधारभूत क्षेत्रहरूमा राज्यको भूमिका भएकोले यि मूलुकहरूलाई समाजवादी मूलुक भन्न थालिएको हो ।
नर्डिक मूलुकहरूले अपनाएको यस खालको समाजवादी अभ्यासले विश्वका सबै देशलाई नै छोएको छ ।
अमेरिकाको डेमोक्रेट्स पार्टीको राष्ट्रपति मनोनयन हुने आन्तरिक चूनावमा हिलरी क्लिन्टनसँग वर्नी स्यान्डर्सले कडा प्रतिष्पर्धा गरेका थिए । वर्नी स्यान्डर्सको नर्डिक प्रकारको कल्याणकारी राज्यको वकालत गरेका थिए ।
चुनाव अवधि भर उक्त प्रस्तावले अमेरिकामा सनसनी फैलिएको थियो र वर्नी स्यान्डर्सले हिलरीलाई कडा टक्कर दिएका थिए । स्मरण रहोस्, उनले नर्डिक मोडलको समाजवादलाई चुनावी एजेण्डा बनाएका थिए ।
चिनिया“ विशेषता सहितको समाजवाद
चीनमा अहिले राजनैतिक तहमा ‘चिनियाँ विशेषता सहितको समाजवाद’ प्रमूख विषय बनेको छ । चिनियाँ नेता देङ सियाओ पेङ पनि माओत्से तुङ कै समकालिन नेता हुन् ।
सन् १९४९ को क्रान्ति पश्चात माओले चीनको बागडोर सम्हालेको केही समय पछि नै देङ सियाओ पेङले बजार अर्थतन्त्रलाई खुकुलो बनाउने प्रस्ताव अगाडी सारे । यहि प्रस्तावका कारण देङ सियाओ पेङ लामो समयसम्म माओको वहिष्करणमा परे ।
माओको देहान्त सन् १९७६ भए पश्चात पुनः देङ सियाओ पेङ सत्तामा आउन सफल भए । उनले खुला वजार अर्थतन्त्रको बाटो खोल्दै प्रत्यक्ष वैदेशिक लगानी, प्रविधी एवं व्यवस्थापनलाई बढावा दिदै चिनियाँ समाजको भाग्य बदल्ने अठोट गर्दै ‘चिनियाँ विशेषता सहितको सजाजवाद’ लाई अगाडि सारे ।
तत्कालीन चीन अर्ध औपनिवेशिक एवं अर्ध सामन्ती अवस्थामा थियो । चिनीयाँ इतिहासको सामाजिक विकासका सिद्धान्तहरू एवं वैज्ञानिक समाजवादका आधारभूत अवयवहरूलाई एकत्रित गर्दै ‘चिनियाँ विशेषता सहितको समाजवाद’ प्रतिपादन गरिएको थियो ।
चीन अहिले विश्व मानचित्रमा क्रय शक्ती (पर्चेजिङ पावर प्यारिटी) को आधारमा विश्वको पहिलो देश हो भने कुल ग्राहस्थ उत्पादन (जिडीपी) को आधारमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो ।
हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनबाट ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद बारे सि जिन पिङको विचार’ पारित भएको छ । चिनले विश्वमा आफूलाई बलियो समाजवादी देशको रुपमा दावा गर्ने गर्दछ ।
भारतीय समाजवाद
भारत विर्टिस उपनिवेशबाट स्वतन्त्र भएसँगै भारतको सम्बन्ध तत्कालिन शोभियत युनियन हालको रसियासँग प्रगाढ रहेको तथ्य निर्विवाद छ । जवारलाल नेहरू ‘भारत छोड’ आन्दोलनकै दौडानमा सन् १९२७ मा रसिया पुग्दा त्यहाँको समाजवादी व्यवस्थासँग आकर्षित भएका थिए ।
सन् १९४७ मा भारत स्वतन्त्र भएसँगै भारतका प्रथम प्रधानमन्त्री बनेका जवारलाल नेहरू रसियासँग नजिक हुन पुगेका थिए । भारतले रसियालाई सबै भन्दा पुरानो र भरपर्दो मित्र आज पर्यन्त ठान्ने गरेको छ ।
रसियाले काश्मिरको विषयमा अन्तर्राष्ट्रिय जगतमा भारतलाई सघाउने गरेको तथ्य जग जाहेर छ । भारतले सन् १९७१ मा वंगलादेशलाई छुट्टै देशको रुपमा मान्यता दिलाउन पहल गर्दा रसियाले कुटैनतिक रुपमा भारतलाई सहयोग गरेको यथार्त इतिहासमा सुरक्षित नै छ ।
रसियाले उद्योग, रक्षा एवं प्राकृतिक ग्यासमा समेत भारतलाई सहयोग गर्दै आइरहेको छ । भारतले अपनाएको नियोजित विकासको अवधारणा समेत रसियाबाट नै सिकेको हो । रसियाको संसर्ग पाएको भारतले रसियामा देखिएको समाजवाद प्रति पनि उत्तिकै लगाव देखाएको छ ।
भारतले सन् १९७६ मा भारतिय संविधानमा ४२ औं संशोधन गर्न पुग्यो । उक्त संशोधन मार्फत भारतीय संविधानको प्रस्तावनामा नै भारतलाई समाजवादी एवं धर्म निरपेक्ष राष्ट्रको रुपमा घोषणा गरियो । संवैधानिक ढंगबाट नै भारत समाजवादी देश हुन पुग्यो । अहिले सम्म भारतका केहि आधारभूत सेवाका क्षेत्रमा राज्यको स्वमित्व छ । मिश्रित अर्थतन्त्र मानिने भारतीय अर्थतन्त्रमा समाजवादको स्थान बलियो गरी अडिएको छ ।
नेपालका कम्युनिष्ट पार्टीहरूको समाजवाद
विश्वका अन्य कम्युनिष्ट पार्टीहरू जस्तै नेपालका कम्युनिष्ट पार्टीले पनि समाजवादलाई पुँजीवाद र साम्यवाद विचको संक्रमणकालिन व्यवस्थाको रुपमा बुझ्ने गर्दछन् । कम्युनिष्टहरूले आफ्नो समाजवादलाई वैज्ञानिक समाजबादको रुपमा व्याख्या गर्ने गर्दछन् ।
उक्त वैज्ञानिक समाजवादलाई कुनै पनि कोणबाट नेपाली कम्युनिष्टहरू सच्याउन चाहदैनन् । नेपालको सामजिक व्यवस्था अनुरुपको कस्तो समाजवाद नेपालमा आवश्यक पर्दछ भनेर कसैले लेखेको अहिले सम्म भेटिएको छैन । नेपाली सन्दर्भको मौलिक समाजवाद नेपाली कम्युनिष्टहरूले व्याख्या गर्न सकेनन् वा चाहेनन् ।
नेपालका केही कम्युनिष्टहरूले क्युवा, वोलिभिया वा भेनेजुयला सम्मका अभ्यासहरूलाई आफ्ना दस्तावेजहरूमा समाजवादी कोटीमा राखेको पाइन्छ । तथापी, सबै कम्युनिस्टको उपरोक्त देशहरूको सन्दर्भमा समेत साझा धारणा भेटिँदैन ।
चिन र भारतलाई नेपाली कम्युनिष्टहरूले समाजवादी देशको कोटीमा राख्न सम्म चाहदैनन् ।
नितान्त वैज्ञानिक समाजवादमार्फत नेपाली कम्युनिष्टहरूले आधुनिक नेपालको सेवा गर्न सक्दैनन् । किनकी वैज्ञानिक समाजवादले उत्पादनका साधनहरूमा राज्यको अनिवार्य स्वमित्व माग गर्दछ ।
त्यति मात्र होइन यसले सर्वहारा वर्गको अधिनायकत्वलाई अनिवार्य शर्तको रुपमा राखेको छ ।
संविधानमा निजी सम्पत्तिलाई मौलिक हकको रुपमा स्वीकारी सकेपछि र कुनै पनि प्रकारको अधिनयाकत्वलाई पार्टीको विधानबाट हटाइसकेपछि वैज्ञानिक समाजवादलाई हुबहु नक्कल गर्न आजको परिवेशमा सम्भव छैन ।
नेपाली कम्यनिष्टहरूले समेत नेपाललाई डो¥याउने समाजवादी सिद्धान्त एवं कार्यक्रम प्रस्तुत गर्ने दिन आइसकेको छ ।
नेपाली कांग्रेसको समाजवाद
कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको राजनैतिक जिवन भारतबाट नै सुरुवात भयो । भारतमा चलेको ‘भारत छोड’ आन्दोलनमा विपी कोइराला समेत सहभागी भएका थिए । तत्कालिन भारतका शिर्षस्थ नेता जवारलाल नेहरू को प्रभाव विपी कोइरालामा देखिन्छ ।
जवारलाल नेहरू समाजवादी व्यवस्था एवं लोकतन्त्र प्रति प्रतिवद्ध थिए । नेहरूले समाजवादलाई जिवन पद्धती मात्र होइन सामाजिक आर्थिक समस्याहरू समाधान गर्ने वैज्ञानिक विधीको रुपमा समेत स्वीकारेका थिए । विपी नेहरूसँग प्रभावित थिए ।
विपीले आफ्ना थुप्रै राजनैतिक छलफलमा माक्र्सबाद प्रतिको अनुराग ठाउँ ठाउँमा व्यक्त गरेको भेटिन्छ । कांग्रेसले विरगंज महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादलाई आफ्नो सिद्धान्तको रुपमा अंगीकार ग¥यो ।
विपीले सार्वजनिक रुपमा पटक पटक उद्घोष गर्ने गरेका थिए, ‘साम्यवादमा प्रजातन्त्र थपीदिए समाजवाद हुन्छ र समाजवादमा प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ ।’
विपीको यो परिभाषाबाट के निष्कर्षमा पुग्न सकिन्छ भने (समाजवाद भनेको साम्यवाद र प्रजातन्त्रको योगफल हो । के साम्यवादको अवधारणामा प्रजातन्त्र मिसाए समाजवाद हुन्छ त ?
के समाजवादी व्यवस्थामा प्रजातन्त्र हटाइदिए साम्यवाद बन्छ ?
दुनियाको कुनै पनि विद्धानले समाजवादको सम्बन्धमा यस्तो खालको परिभाषा गरेको कतै भेटिदैन ।
साम्यवादमा प्रजातन्त्र मिसायो भने समाजवाद बन्छ भनेर पत्याउन जो कोहिलाई मुस्किल नै पर्छ ।
विपीको यो व्याख्यालाई कसैले प्रश्न उठाउन हिम्मत गरेनन् । फलतः आज पनि समाजवादको यहि परिभाषा वर्षमा एक पटक कांग्रसीजनहरू व्याख्या गर्ने गर्दछन् ।
विपीले प्रस्तुत गरेको समाजवादको मोडलमा प्रत्येक नेपालीको एउटा घर, दुईवटा गाई, उव्जनी हुने खेत लगाएत हुनु पर्दछ भनी व्याख्या गरेका छन् ।
के प्रजातान्त्रिक समाजवादको यो साँघुरो व्याख्याले कांग्रेसको समाजवादी सपनालाई सेवा गर्ने सामथ्र्य राख्दछ त ?
निश्चय नै नेपालको राजनैतिक आन्दोलनका अग्र पुरुष विपीको क्षमता माथि प्रश्न उठाउन खोजिएको होइन । तथापी, विपीको प्रजातान्त्रिक समाजवादले आधुनिक नेपाललाई काँधमा राख्न भने अवस्य सक्दैन । कांग्रेसले आफ्नो समाजवादलाई नयाँ सन्दर्भमा व्याख्या गर्न जरुरी भइसकेको छ ।
उपसंहार
नेपालको संविधान २०७२ नेपालका राजनैतिक शक्तिहरूको सम्झौताको दस्तावेज भएकोले यसले वोकेका आधारभूत मूल्यहरू सबै राजनैतिक शक्तिका मूख्य कार्यसूचीहरू हुन् ।
समाजवादको परिभाषामा सबै राजनैतिक दलहरूको मतैक्यता नहुन पनि सक्छ तर समाजवादको लक्ष्यमा भने सबैको मतैक्यता नै छ ।
नेपालका राजनैतिक दलहरूले कम्तिमा आफ्ना विधान र कार्यक्रमलाई संविधानले निर्दिष्ट गरेका बाटोतर्फ अग्रसर गराउनु पर्दछ ।
नेपालको संविधानले शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता विषयलाई नागरिकको मौलिक अधिकारको रुपमा स्थान दिएको छ । यसरी राज्यको भूमिकालाई बलियो बनाई समाजवाद तर्फको बाटोलाई संवैधानिक रुपमा भएपनि केहि हदसम्म सुनिश्चित गरिएको छ ।
सिद्धान्त बनाएर मात्र समाजवाद आउँदैन
दुर्तगतिको विकास प्राप्त गरी मूलुकलाई समृद्धीतर्फ डो¥याएर मात्रै संविधानको समाजवाद सफल हुनेछ र नेपाललाई कल्याणकारी राज्यको रुपमा स्थापित गर्न सकिने छ । कोरा सिद्धान्तले समाजवाद निर्माण गर्न सक्दैन । विकास नै नभए समाजवादले नागरिकहरूलाई केहि वितरण गर्ने सक्ने छैन । समाजवादी सपना संविधानका चिसा अक्षरहरूमा त कोरिए । तर, समाजवादी सपनाको वास्तविक रुप भेट्नलाई सबैले कडा मिहिनेतमा जुट्नुको भने विकल्प अव छैन ।

 

2018 July 26 2:02 pm

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया